Lucky-Khabar_

काठमाडौंमै बसेर मौलापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत खाताबाट करोडौँ निकालेको आरोप,अधिकृतमाथि कारबाहीको माग

वीरगञ्ज । रौतहटको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) सुरेशबाबु घिमिरेमाथि काठमाडौंमै बसेर नगरपालिकाको सरकारी खाताबाट करोडौँ रुपैयाँ अवैध रूपमा निकालेको आरोप लागेको छ। नगर नेतृत्वले उक्त घटनाको निष्पक्ष छानबिन, घिमिरेलाई तत्काल निलम्बन तथा निकालिएको रकम फिर्ता गराउन नेपाल सरकारसँग माग गरेको छ।

content ad p2

मौलापुर नगरपालिकाकी प्रमुख रिना कुमारी साहले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत घिमिरे लामो समयदेखि कार्यालयमा अनुपस्थित रहँदै आएको र नगर नेतृत्वको जानकारी तथा निर्णयबिनै सरकारी खाताबाट ठूलो रकम निकालेको आरोप लगाएकी हुन्।

विज्ञप्तिअनुसार घिमिरेले महिनौँदेखि कार्यालयमा उपस्थित नभई नगरपालिकाको प्रशासनिक कामकाज अस्तव्यस्त बनाएको, नागरिकलाई प्रदान गरिने सेवा प्रभावित पारेको, विकास निर्माणका योजना अवरुद्ध बनाएको तथा बजेटसमेत फ्रिज हुने अवस्था सिर्जना गरेको आरोप छ।

मेयर साहले नगर प्रमुखको जानकारी र स्वीकृतिबिना सरकारी खाताबाट करोडौँ रुपैयाँ निकालिएको घटना गम्भीर आर्थिक अनियमितता भएको उल्लेख गर्दै उक्त रकम तत्काल नगरपालिकाको खातामा फिर्ता गराउन र संलग्नमाथि कानुनी कारबाही गर्न माग गरेकी छन्।

विज्ञप्तिमा सरकारी ढुकुटीलाई निजी सम्पत्तिसरह प्रयोग गर्ने कार्य आर्थिक अनुशासनविपरीत तथा भ्रष्टाचारजन्य अपराध भएको उल्लेख गर्दै यसमा संलग्न जोसुकैलाई पनि छानबिनको दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

नगर प्रमुख साहका अनुसार नगरपालिकामा केही सीमित योजनामा मात्र भुक्तानी गर्ने र अन्य योजनाको भुक्तानी रोक्ने प्रवृत्तिका कारण विकास निर्माणका काम थप प्रभावित भएका छन्। उनले प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई तत्काल निलम्बन गरी सरकारी खाताबाट निकालिएको रकम असुलउपर गरेर नगरपालिकाको खातामा फिर्ता गराउन नेपाल सरकारसँग जोडदार माग गरेकी छन्।

उनले मौलापुर नगरपालिकामा देखिएको प्रशासनिक तथा आर्थिक समस्या समाधान गर्न संघीय मन्त्रालय पटक–पटक असफल भएको दाबी गर्दै यसपटक गम्भीरतापूर्वक हस्तक्षेप गरी समस्याको निकास निकाल्न आग्रह गरेकी छन्। साथै, सर्वोच्च अदालतको अन्तरिम आदेशको भावना विपरीत हुने गरी प्रमुख प्रशासकीय अधिकृतले काम गरेको आरोपसमेत लगाएकी छन्।

यस घटनाप्रति स्थानीयवासी पनि आक्रोशित बनेका छन्। बिहीबार मौलापुरका स्थानीयले विरोध प्रदर्शन गर्दै प्रमुख प्रशासकीय अधिकृतमाथि छानबिन र कारबाहीको माग गरेका थिए।

यद्यपि, प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन। आरोपबारे सम्बन्धित निकायबाट छानबिन प्रक्रिया अघि बढेपछि घटनाको वास्तविकता थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

सरकार–चिकित्सकबीच पाँच बुँदे सहमति, देशभरको चिकित्सक आन्दोलन फिर्ता

लक्की खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर

वीरगञ्जका ३२ वटै वडा कार्यालयका सेवा अनिश्चितकालका लागि ठप्प, पक्राउ परेका वडाध्यक्षको रिहाइको माग

लक्की खबर