वीरगंज । वीरगंवजकाे रानीघाट चोकमा टायर बालेर प्रदर्शन गरिरहेका चार जना हिन्दू सङ्गठनसँग आबद्ध युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरी र सिरहामा प्रहरीको गोली लागेर तीन युवाको मृत्यु भएको घटनाको विरोधमा शनिबार रानीघाट क्षेत्रमा प्रदर्शन भइरहेको बेला प्रहरीले हस्तक्षेप गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रत्यक्षदर्शीका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीको कमान्डमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नवीन थापा मगर र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक एकनाथ भट्टराईसहितको संयुक्त प्रहरी टोलीले प्रदर्शनकारीलाई रानीघाट चोकबाट नियन्त्रणमा लिएको थियो ।प्रहरीले टायर बालेर सार्वजनिक शान्ति तथा सामाजिक सद्भाव खलबल्याउने गतिविधिमा संलग्न चार जनालाई पक्राउ गरिएको जनाएको छ । यद्यपि, पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरिएको छैन ।

यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले दोस्रो पटक शुक्रबार साँझ ५ बजेदेखि वीरगंजमा निषेधाज्ञा जारी गरेको थियो । उक्त निषेधाज्ञा शनिबार बिहान ६ बजे हटाइएपछि प्रदर्शन भएको हो ।घटनापछि रानीघाट क्षेत्रको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ भने पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


