Lucky-Khabar_

पचरौता नगरपालिकामा विद्यालयका लेखापालले शिक्षा शाखा सम्हालेको आरोप, प्रशासनिक प्रणालीमाथि प्रश्न

बारा । बाराको पचरौता नगरपालिकामा शिक्षा प्रशासनमा राजनीतिक प्रभाव बढेको आरोपसँगै प्रशासनिक प्रणालीको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको छ। विद्यालयमा करार सेवामा कार्यरत एक लेखापालले नगरपालिकाको शिक्षा शाखाको नेतृत्व गरिरहेको तथा नियमित प्रमुख प्रशासकीय अधिकृतको सट्टा निमित्त प्रमुखमार्फत प्रशासन सञ्चालन भइरहेको विषय सार्वजनिक भएपछि स्थानीय तहको प्रशासनिक अभ्यासमाथि बहस सुरु भएको हो।

content ad p2

स्थानीय स्रोतका अनुसार नगरप्रमुख जलन्धर सिंह जैसवार नेतृत्वमा आएयता श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बेनौली–४ मा करार सेवामा कार्यरत लेखापाल मुकेश कुमार सिंहलाई नगरपालिकाको शिक्षा शाखाको जिम्मेवारी दिइएको छ। औपचारिक रूपमा सह–संयोजकको भूमिका दिइए पनि व्यवहारमा उनी नै शिक्षा शाखा प्रमुखसरह निर्णय प्रक्रिया, समन्वय तथा प्रशासनिक काममा सक्रिय रहेको आरोप छ। उनी विद्यालयको लेखापालको जिम्मेवारीसमेत एकैसाथ सम्हालिरहेका छन्।

विद्यालयका कर्मचारीलाई स्थानीय तहको शिक्षा प्रशासनमा प्रत्यक्ष जिम्मेवारी दिइनुले कानुनी वैधता, हितको द्वन्द्व तथा प्रशासनिक मर्यादामाथि प्रश्न उठेको सरोकारवालाहरूको भनाइ छ। उनी कार्यरत विद्यालयमा विद्यालय व्यवस्थापन समितिबाट गरिएको स्थायी नियुक्तिसमेत कानुनी विवादमा परेको बताइएको छ।

शिक्षा विकास तथा समन्वय इकाइ, बाराले विद्यालय व्यवस्थापन समितिलाई विद्यालय कर्मचारी स्थायी नियुक्ति गर्ने अधिकार कानुनले नदिएको स्पष्ट गरिसकेको भए पनि उक्त निर्णय कार्यान्वयनमा ल्याइएको भन्दै अधिकारको दुरुपयोग भएको आरोप लगाइएको छ।

यता नगरपालिकाको आधिकारिक वेबसाइटमा भने सातौँ तहका अधिकृत बसन्तराज जोशी शिक्षा शाखा प्रमुखका रूपमा उल्लेख छन्। हाल उनी निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका छन्। तर शिक्षा शाखाको दैनिक प्रशासनिक कार्य भने मुकेश सिंहले सञ्चालन गरिरहेको स्थानीय स्रोतको दाबी छ।

स्थानीय स्रोतका अनुसार नगरप्रमुखका निकट मानिएका मुकेश सिंहले शिक्षा प्रशासनबाहेक अन्य प्रशासनिक निर्णय प्रक्रियामासमेत प्रभाव पार्दै आएको आरोप छ। साथै निमित्त प्रमुख प्रशासकीय अधिकृत बसन्तराज जोशी पनि राजनीतिक विश्वासका आधारमा जिम्मेवारीमा रहेको आरोप स्थानीय तहमै उठ्न थालेको छ।

नगरपालिकामा उपसचिव तहको प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी रहे पनि नियमित प्रमुख प्रशासकीय अधिकृत लामो समय टिक्न नसकेको बताइन्छ। नगरप्रमुखसँग असहमति राख्ने कर्मचारीलाई काम गर्न प्रतिकूल वातावरण सिर्जना भएकाले उनीहरू सरुवा वा अवकाश रोज्न बाध्य भएको र त्यसपछि निमित्त प्रमुखको नेतृत्वमा प्रशासन सञ्चालन हुँदै आएको आरोपसमेत लगाइएको छ।

यस विषयमा स्थानीय सरोकारवालाले शिक्षा प्रशासनमा भएको भनिएको राजनीतिक हस्तक्षेप, अधिकारको दुरुपयोग, स्वार्थको द्वन्द्व तथा जिम्मेवारी बाँडफाँटबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग गरेका छन्। दोषी देखिए कानुनबमोजिम कारबाही हुनुपर्ने उनीहरूको भनाइ छ।

यस विषयमा प्रतिक्रिया लिन नगरप्रमुख जलन्धर सिंह जैसवार र शिक्षा शाखाको जिम्मेवारी सम्हालिरहेका भनिएका मुकेश कुमार सिंहसँग पटक–पटक सम्पर्क गर्ने प्रयास गरिएको भए पनि समाचार तयार पार्दासम्म उनीहरू सम्पर्कमा आउन सकेनन्। यस्तै, निमित्त प्रमुख प्रशासकीय अधिकृत बसन्तराज जोशीसँग प्रतिक्रिया माग्दा उनले यस विषयमा बोल्न नचाहेको जनाइएको छ।

सम्बन्धित खबर

पर्सा ट्राफिक प्रहरीको‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान, चालकलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम

लक्की खबर

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी कसुर मुद्दामा पक्राउ

लक्की खबर

दाह्रा काटिएपछि ‘ध्रुवे’ को गतिविधि निकुञ्जभित्रै सीमित, उच्च सतर्कतामा प्रशासन

लक्की खबर