वीरगञ्ज |पर्सा प्रहरीले विशेष सूचनाको आधारमा २०७ केजी लागूऔषध गाँजासहित एक टाटा योद्धा पिकअप र त्यसका चालकलाई पक्राउ गरेको छ। प्रहरीले लागूऔषधको स्रोत, गन्तव्य तथा यसमा संलग्न अन्य व्यक्तिको खोजीसमेत तीव्र बनाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार साउन १९ गते साँझ करिब ६:३० बजे बिन्दवासिनी गाउँपालिका–५ स्थित सडकखण्डमा इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभठ्ठाको संयुक्त प्रहरी टोलीले प्रदेश ३–०१–२४ च ५३८५ नम्बरको टाटा योद्धा पिकअपलाई रोकी जाँच गरेको थियो।
जाँचका क्रममा गाडीभित्र सिमेन्टका बोराभित्र लुकाइछिपाइ राखिएको अवस्थामा २०७ केजी गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट उक्त पदार्थ गाँजा रहेको खुलेको छ।
घटनामा पिकअप चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ निवासी ४८ वर्षीय कृष्ण लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बरामद गाँजा, पिकअप गाडी तथा चालकलाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार बरामद लागूऔषध कहाँबाट ल्याइएको, कहाँ लैजान खोजिएको तथा यसमा संलग्न अन्य व्यक्तिहरूको पहिचान र पक्राउका लागि अनुसन्धान जारी रहेको छ।
पर्सा प्रहरीले पछिल्लो समय विशेष सूचनाका आधारमा लागूऔषध ओसारपसार नियन्त्रण अभियानलाई प्रभावकारी बनाउँदै आएको जनाएको छ।


