वीरगंज । वीरगंजको मुख्य सडक विस्तारअन्तर्गत सडक दायाँबायाँका संरचना हटाउने काम शुक्रबार पनि जारी रह्यो। उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजले भदौ ४ गतेसम्म सडक विस्तार रोक्न आदेश दिएको समाचार सार्वजनिक भए पनि सडक डिभिजन कार्यालयले भने अदालतको आदेशबारे आधिकारिक जानकारी प्राप्त नभएको जनाएको छ।

सडक डिभिजन कार्यालय वीरगंजका फोकल पर्सन इन्जिनियर दुर्गाप्रसादका अनुसार आदेशको आधिकारिक पत्र कार्यालयमा नआएकाले संरचना हटाउने काम रोकिएको छैन। त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडक क्षेत्रमा दायाँबायाँ २५/२५ मिटर खाली गराउने अभियान जारी रहेको उनले बताए।उनका अनुसार शुक्रबार घण्टाघर क्षेत्रका विभिन्न संरचना हटाइएको छ। सडक विस्तारअन्तर्गत अब करिब ३० वटा संरचना मात्र हटाउन बाँकी छन्।

बाँकी संरचनामा राष्ट्रिय वाणिज्य बैंक श्रीपुर, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, मकालु होटल तथा आर्मी ब्यारेकलगायतका भवन रहेका छन्।सडक डिभिजनले अदालतको आदेशसम्बन्धी आधिकारिक जानकारी प्राप्त भएपछि त्यसअनुसार आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।


