Lucky-Khabar_

बिजुलीको महसुल घटाउने तयारी, वर्षायाममा सस्तो दरमा विद्युत् दिने सरकारको गृहकार्य

काठमाडौं । सरकारले वर्षायाममा विद्युत्को खपत बढाउन सस्तो दरमा बिजुली उपलब्ध गराउनेसहित विद्युत् महसुल पुनरावलोकन गर्ने तयारी थालेको छ। विद्युत्मा मूल्य अभिवृद्धि कर (भ्याट) लागेपछि उपभोक्तामाथि बढेको भार कम गर्ने उद्देश्यले महसुल घटाउने उपायबारे गृहकार्य अघि बढाइएको हो।

content ad p2

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको पहलमा नेपाल विद्युत् प्राधिकरणले महसुल पुनरावलोकनको प्रक्रिया अघि बढाएको हो। प्राधिकरणले गत साउन १३ गते सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा महसुल पुनरावलोकन समिति गठन गरेको थियो।

समितिमा ऊर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, ऊर्जा विज्ञ, उपभोक्ता तथा वित्त विज्ञ सदस्य छन्। समितिको बैठक बुधबार ऊर्जा मन्त्रालयमा बस्दैछ।

बैठकमा विद्युत् महसुल घटाउने उपायसँगै वर्षायाममा उत्पादन बढ्दा खेर जाने विद्युत्लाई आन्तरिक खपतमार्फत व्यवस्थापन गर्ने विषयमा छलफल हुने जनाइएको छ।

समितिका संयोजक शाहीका अनुसार वर्षायाममा विद्युत् उत्पादन बढ्ने तर माग सोही अनुपातमा नबढ्दा ठूलो परिमाणमा विद्युत् खेर जाने अवस्था छ। त्यसलाई रोक्न वर्षायाममा सस्तो दरमा विद्युत् उपलब्ध गराउने ‘सिजनल ट्यारिफ’ लागू गर्ने विकल्पमाथि छलफल भइरहेको छ।

सस्तो विद्युत् उपलब्ध गराउँदा घरायसी तथा औद्योगिक क्षेत्रमा खपत बढ्ने र उद्योगको उत्पादन लागतसमेत घटाउन सकिने अपेक्षा गरिएको छ। उद्योगले पाउने सहुलियतको लाभ उपभोक्तासम्म पुर्‍याउने विषयमा समेत छलफल भइरहेको शाहीले बताए।

विद्युत्मा भ्याट लागू भएपछि घरायसी तथा औद्योगिक उपभोक्ताको लागत बढेको भन्दै आलोचना भइरहेका बेला सरकारले महसुल पुनरावलोकनको तयारी थालेको हो। महसुल घटाउने निर्णय भएमा भ्याटका कारण बढेको उपभोक्ताको भार केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।

यद्यपि महसुल घटाउँदा सरकारले विद्युत्बाट उठाउने भ्याट राजस्वमा समेत असर पर्न सक्ने देखिएको छ। समितिको सुझावका आधारमा प्राधिकरण र सरकारले गर्ने निर्णयले विद्युत्को मूल्यसँगै उद्योगको उत्पादन लागत र सरकारको राजस्वमा समेत प्रत्यक्ष प्रभाव पार्नेछ।

सम्बन्धित खबर

बाढी प्रभावितका लागि समाजसेवी राजी राणाको १ करोड ९ लाख सहयोग

लक्की खबर

भोटेकोशी बाढीपछि उद्धार कोषमा सहयोगको ओइरो, ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी संकलन

लक्की खबर

एक दिनमै ६०२ जनाको हेलिकप्टरमार्फत उद्धार, खोज तथा उपचार कार्य तीव्र

लक्की खबर