वीरगञ्ज । बसपार्क व्यवस्थापन र विद्युतीय सवारीसाधन सञ्चालनलाई व्यवस्थित गर्ने विषयमा चार महिनाअघि भएको सहमति कार्यान्वयन नभएपछि वीरगञ्ज बसपार्क पुनः अस्तव्यस्त बन्न थालेको छ।

जिल्ला प्रशासन कार्यालय पर्सामा गत वैशाख २२ गते प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा ट्राफिक प्रहरी, बस व्यवसायी तथा विद्युतीय सवारीसाधन सञ्चालकलगायत सरोकारवालाबीच भएको बैठकले बसपार्क व्यवस्थित गर्ने विषयमा विभिन्न बुँदामा सहमति गरेको थियो। तर लामो समय बितिसक्दा पनि सहमति प्रभावकारी रूपमा कार्यान्वयन नभएको भन्दै बस व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्।

व्यवसायीहरूका अनुसार बसपार्कमा टिकट काट्ने नाममा बिचौलिया परिचालन गरी यात्रुलाई दुःख दिने गतिविधि अझै रोकिएको छैन। सहमति कार्यान्वयन नहुँदा यात्रु र व्यवसायी दुवैले समस्या भोग्नुपरेको उनीहरूको गुनासो छ।
सहमति अनुसार दिवा सेवामा सञ्चालन हुने विद्युतीय सवारीसाधन तथा टाटा सुमोलाई दिउँसो २ बजेसम्म मात्रै सञ्चालन गर्ने व्यवस्था गरिएको थियो। तर तोकिएको समयपछि पनि यस्ता सवारीसाधन साँझ ७ बजेसम्म सञ्चालन हुँदा रात्रिकालीन सेवाका बस प्रभावित भइरहेको एक बस व्यवसायीले बताए।
सहमति कार्यान्वयनमा बेवास्ता हुँदा बसपार्कको अवस्था पुनः पुरानै लथालिङ्ग र भद्रगोल अवस्थामा फर्किन थालेको व्यवसायीहरूको भनाइ छ।
उनीहरूले जिल्ला प्रशासन कार्यालयसहित सम्बन्धित निकायलाई चार महिनाअघि भएको सहमति तत्काल र कडाइका साथ कार्यान्वयन गरी वीरगञ्ज बसपार्कको सञ्चालन व्यवस्थित बनाउन माग गरेका छन्।


