वीरगञ्ज । तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा कमजोरी देखिएको भन्दै बाराको सिमरास्थित इलाका प्रहरी कार्यालयका डीएसपी दिलीप क्षेत्रीलाई जिम्मेवारीबाट हटाइएको छ।

प्रहरी प्रधान कार्यालयले बिहीबार साँझ क्षेत्रीलाई सिमराबाट तानेर उनको स्थानमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डीएसपी दयाकृष्ण भट्टलाई इलाका प्रहरी कार्यालय सिमराको प्रमुखका रूपमा पठाएको हो।
घटनापछि इलाका प्रहरी कार्यालय सिमराका इन्स्पेक्टर प्रकाश थापालाई समेत जिम्मेवारीबाट हटाइएको प्रहरी स्रोतले जनाएको छ।
तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई प्रहरी नेतृत्वले गम्भीर रूपमा लिएपछि सिमराको प्रहरी कमान्ड परिवर्तन गरिएको हो। घटनाको अनुसन्धान र प्रहरी परिचालनमा कमजोरी भएको निष्कर्षपछि डीएसपी र इन्स्पेक्टर दुवैलाई जिम्मेवारीबाट हटाइएको स्रोतको भनाइ छ।
नयाँ नेतृत्वले घटनाको अनुसन्धानलाई प्रभावकारी बनाउँदै दोषी पहिचान र कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।


