Lucky-Khabar_

मृत्युदण्डको कानुनी व्यवस्था गर्न माग गर्दै जेन जी पर्साले बुझायो ध्यानाकर्षण पत्र

वीरगञ्ज । महिला, बालिका तथा किशोरीमाथि हुने बलात्कार, यौनजन्य हिंसा र जघन्य अपराध नियन्त्रणका लागि मृत्युदण्डको कानुनी व्यवस्था गर्न माग गर्दै जेन जी पर्साले जिल्ला प्रशासन कार्यालय पर्सामा ध्यानाकर्षण पत्र बुझाएको छ।

content ad p2

जेन जी पर्साका संयोजक महादेव प्रसाद कुर्मीको नेतृत्वमा प्रशासनमा बुझाइएको पत्रमा हालै बाराको सिमरामा तीन वर्षीया बालिकामाथि बलात्कारपछि हत्या भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी निष्पक्ष अनुसन्धानमार्फत कडा कानुनी कारबाही गर्न माग गरिएको छ।

जेन जी पर्साले बलात्कारलगायत जघन्य अपराधमा संलग्न दोषीलाई कडा सजाय सुनिश्चित गर्न संविधान संशोधन गरी मृत्युदण्डको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। त्यसका लागि द्रुत मार्गबाट संविधान संशोधन प्रक्रिया अघि बढाउनसमेत आग्रह गरिएको छ।

ध्यानाकर्षण पत्रमा अपराधीले राजनीतिक संरक्षण पाउने वा कानुनी कारबाहीबाट उम्किने अवस्था अन्त्य गर्दै निष्पक्ष अनुसन्धान र प्रभावकारी कानुनी कारबाही सुनिश्चित गर्नुपर्ने उल्लेख छ।

त्यस्तै पर्साका सार्वजनिक स्थल, विद्यालय तथा कार्यक्षेत्रमा महिला, किशोरी र बालिकाको सुरक्षा सुनिश्चित गर्न नियमित सुरक्षा गस्ती तथा निगरानी थप प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीसमक्ष आग्रह गरिएको छ।

जेन जी पर्साले सिमरामा बलात्कारपछि हत्या गरिएकी बालिकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ। ध्यानाकर्षण पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयमा समेत पठाइएको जनाइएको छ।

सम्बन्धित खबर

बाढी प्रभावितका लागि समाजसेवी राजी राणाको १ करोड ९ लाख सहयोग

लक्की खबर

भोटेकोशी बाढीपछि उद्धार कोषमा सहयोगको ओइरो, ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी संकलन

लक्की खबर

एक दिनमै ६०२ जनाको हेलिकप्टरमार्फत उद्धार, खोज तथा उपचार कार्य तीव्र

लक्की खबर