७ भदौ, काठमाडौं । चितवनको भरतपुरमा आफ्नै १९ वर्षीया छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा ४५ वर्षीय बाबु पक्राउ परेका छन्। छोरीलाई डरधम्की देखाएर बलात्कार गरेको आरोपमा पक्राउ परेका उनले प्रहरीसमक्ष घटनामा संलग्न भएको स्वीकार गरेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मनिष श्रेष्ठका अनुसार पीडित युवती आफैँ प्रहरी कार्यालयमा उपस्थित भएर बाबुविरुद्ध जबरजस्ती करणीसम्बन्धी जाहेरी दिएकी थिइन्।
प्रहरीका अनुसार आरोपितकी श्रीमती र छोरा वैदेशिक रोजगारीका क्रममा जापानमा रहेका छन्। आरोपित पुरुष पनि केही समय जापान बसेर छोरीको स्वास्थ्यमा समस्या देखिएपछि उपचार गराउन भन्दै करिब आठ महिनाअघि नेपाल फर्किएका थिए। उनी पुनः जापान फर्किने तयारीमा रहेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।
घरमा बाबु र छोरी मात्रै बस्दै आएको अवस्थामा गत साउन २८ गते राति मदिरा सेवन गरेका आरोपितले छोरीलाई डरधम्की दिई जबरजस्ती करणी गरेको पीडितले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।घटनाको जानकारी पाएपछि प्रहरीले भदौ ४ गते आरोपितलाई पक्राउ गरेको हो। जिल्ला अदालत चितवनबाट म्याद थप अनुमति लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


