Lucky-Khabar_

मधेशका १ सय ६२ जना अझै रसुवा बाढीमा बेपत्ता

१५ भदौ, जनकपुर । रसुवाको भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि मधेश प्रदेशका १ सय ६२ जना अझै सम्पर्कविहीन छन्। बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये ३० जना सम्पर्कमा आए पनि बाँकीको अवस्था अझै अज्ञात रहेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

content ad p2

धनुषाको कमला नगरपालिकाका ३० वर्षीय इन्जिनियर अजयप्रसाद सिंह पनि बाढीपछि सम्पर्कविहीन छन्। उनी रसुवास्थित दोसान हाइड्रोपावर परियोजनामा कार्यरत थिए।अजयकी एक महिनाकी सुत्केरी श्रीमती पूजा सिंह काखमा दुधे बालिका च्यापेर श्रीमान्को खबर पर्खिरहेकी छन्। उनले सामाजिक सञ्जालमार्फत श्रीमान्को खोजी तथा सुरक्षित उद्धारका लागि हारगुहार गरिरहेकी छन्।

“आजको दिन पनि बित्यो, तर मेरो श्रीमान्को खबर आएन। उहाँको क्याम्प आसपास अझै उद्धार टोली पुगेको छैन। भगवान्ले उहाँलाई सुरक्षित राखून्,” उनले सामाजिक सञ्जालमा लेखेकी छन्।एक वर्षअघि मात्र अन्तरजातीय विवाह गरेका अजय र पूजाकी एक महिनाकी छोरी छिन्। श्रीमान् बेपत्ता भएपछि नवजात छोरीसहित पूजा निरन्तर उनको खबरको प्रतीक्षामा छिन्।

यस्तै पीडा सप्तरीका श्यामसुन्दर यादवको परिवारले पनि भोगिरहेको छ। रसुवाको नीलकण्ठ माध्यमिक विद्यालय, बोगटीटारमा कार्यरत उनका भाइ इन्जिनियर अजयकुमार यादव बाढीपछि बेपत्ता छन्। भाइको खोजीका लागि श्यामसुन्दर आफैँ रसुवा पुगेका छन्।“खोजी र उद्धारका लागि सबैले आफ्नो तर्फबाट पहल गरिदिनुस्। भाइको अवस्था थाहा नहुँदा परिवार बेचैन छ,” श्यामसुन्दरले आग्रह गरेका छन्।

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपछि प्रदेशका आठवटै जिल्लाबाट कुल १९२ जना सम्पर्कविहीन भएको विवरण दर्ता भएको थियो। तीमध्ये ३० जना सम्पर्कमा आएपछि अहिले १६२ जनाको अवस्था अज्ञात रहेको छ।प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालका अनुसार सबैभन्दा बढी सप्तरीका ४८ जना बेपत्ता छन्। त्यस्तै पर्साका ३८, बाराका २३, सर्लाहीका १६, रौतहटका १३, महोत्तरीका १०, सिरहाका ८ र धनुषाका ६ जना अझै सम्पर्कविहीन छन्।

बेपत्ता हुनेहरूमा जलविद्युत् आयोजना, सडक निर्माण, व्यापार–व्यवसाय तथा ज्याला मजदुरीमा संलग्न सर्वसाधारण छन्। उनीहरूसँगै ९ जना प्रहरी र ३ जना नेपाली सेनाका जवानसमेत बेपत्ता रहेको प्रहरीको विवरणमा उल्लेख छ।बाढीपछि दिनहरू बित्दै जाँदा बेपत्ताका परिवारमा आशा र निराशा दुवै बढ्दै गएको छ। कतिपय आफन्त प्रहरी कार्यालय तथा सामाजिक सञ्जालमार्फत आफ्ना मान्छेको खोजीका लागि हारगुहार गरिरहेका छन् भने केही आफन्त आफैँ जोखिम मोलेर रसुवाका खोंच, बगर तथा प्रभावित क्षेत्रमा पुगेर खोजी गरिरहेका छन्।

मधेश प्रदेश प्रहरीले बेपत्ताहरूको नाम र विवरण सम्बन्धित जिल्ला तथा केन्द्रीय उद्धार टोलीलाई पठाइएको जनाएको छ। खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको प्रहरीको भनाइ छ।बाढी आएको पाँच दिन बितिसक्दा पनि सयौँ नागरिकको अवस्था अज्ञात रहँदा मधेशका परिवारमा आफ्ना आफन्त सकुशल फर्किने आशा भने कायमै छ।

सम्बन्धित खबर

तीजको खर्च कटाएर बाढीपीडितलाई सहयोग गर्दै टाइगरचोक एकता आमा समूह

लक्की खबर

रौतहटको बीपी आदर्श माविमा भ्रष्टाचारको चाङ

Akleshsaran Patel

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर