बिरगंज । पर्साको पर्सागढी नगरपालिका–४ मा परम्परागत कंस वध मेला–२०८३ सुरु भएको छ। मेलाको उद्घाटन प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य मा. सुशील कानु र विशिष्ट अतिथि गोविन्द पाठकको उपस्थितिमा मेला समितिका अध्यक्ष अलिक सिंहले गर्नुभएको हो।
मेलामा विभिन्न मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको छ। विशेष आकर्षणका रूपमा भगवान् श्रीकृष्णले हात्तीमा चढेर कंसको वध गरेको धार्मिक तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। साथै समसामयिक विषयवस्तु झल्काउने विभिन्न झाँकी, हात्ती तथा घोडासहितका कार्यक्रमले मेलाको रौनक थपेको थियो।
पर्सागढीमा २०४५ सालदेखि निरन्तर लाग्दै आएको कंस वध मेला स्थानीयस्तरमा धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको मेलाका रूपमा परिचित छ। मेलाले विभिन्न समुदायका नागरिकलाई एकै ठाउँमा जोड्दै सामाजिक सद्भाव र आपसी एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको प्रमुख अतिथि सांसद सुशील कानुले आफ्नो मन्तव्यमा बताउनुभयो।
मेलामा यस वर्ष करिब १० हजारभन्दा बढी मानिसको सहभागिता रहेको आयोजकले जनाएको छ। स्थानीय तथा बाहिरी क्षेत्रबाट समेत उल्लेख्य संख्यामा मानिसहरू मेला अवलोकन गर्न आएका थिए।
परम्परागत संस्कृति, धार्मिक आस्था र मनोरञ्जनलाई एकैसाथ समेटिएको कंस वध मेलाले पर्सागढीको सांस्कृतिक पहिचानलाई थप उजागर गरेको आयोजकको भनाइ छ।



