वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ खुश्बु ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशक नियुक्तिमा अनियमितता र नीतिगत सेटिङ भएको आरोप लगाएकी छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया अपारदर्शी रहेको दाबी गर्दै यस विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गरिन्।
संसद्मा नियुक्ति प्रक्रियाको टाइमलाइन प्रस्तुत गर्दै ओलीले नेपाल सरकारले स्थापना गरेको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशक नियुक्तिमा भएको प्रक्रिया र अपारदर्शिताले नीतिगत भ्रष्टाचारको आशंका जन्माएको बताइन्।उनका अनुसार जेठ १२ गते कार्यविधि बनाउन गठन गरिएको कार्यदलका संयोजक किरण तिम्सिनाले पछि आफू नै नियुक्त हुने गरी नियम तथा मापदण्ड तयार पारेको आरोप छ।
ओलीले तिम्सिनाले सामाजिक सञ्जाल लिङ्क्डइनमा ‘ओ ब्वाइ, दिस वाज् टफ’ भन्दै पोस्ट गरेको र त्यसपछि प्रधानमन्त्री कार्यालयका कर्मचारीसँगै केक काटेर उत्सव मनाएको तस्बिरसमेत सार्वजनिक गरेको बताइन्।उनका अनुसार असोज १ गते हतारहतार उम्मेदवारको सर्टलिस्ट तयार पारिएको र असोज २ गते अन्तर्वार्ता लिइएको थियो। सोही दिन मन्त्रिपरिषद्ले नियुक्तिको निर्णय गरे पनि त्यससम्बन्धी सूचना पाँच दिनसम्म सार्वजनिक नगरिएको ओलीको दाबी छ।
ओलीले नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै भनिन्, “आफैँ प्रश्नपत्र बनाउने, आफैँ सहभागी हुने र विज्ञापन खुल्नुअघि नै उत्सव मनाउने—यो कस्तो सुशासन हो ?”उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै आफ्नै कार्यालय मातहत भएको भनिएको यस्तो प्रक्रियाबारे जानकारी भए–नभएको प्रश्नसमेत उठाइन्। साथै नियुक्ति प्रक्रियाको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न माग गरिन्।


