वीरगञ्ज । नेकपा एमालेका नेता एवं जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी ज्यानसम्बन्धी कसुर र सार्वजनिक न्यायविरुद्धको कसुरको आरोपमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार जगरनाथपुर–५ स्थायी घर भई हाल वीरगञ्ज महानगरपालिका–१३ मुर्लीमा बस्दै आएका करिब ४० वर्षीय जाफिरलाई बुधबार वीरगञ्जबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार जगरनाथपुर–४ की आफ्नी सालीको मृत्यु प्रकरणमा अनुसन्धानका क्रममा जाफिर पक्राउ परेका हुन्। यही घटनामा उनका दाजु नासिर अहमद मन्सुरीलाई पनि असोज ३ गते पक्राउ गरिएको थियो।
प्रहरीका अनुसार २०७८ असोज २१ गते मृतक युवतीको शव वीरगञ्ज–१३ मुर्लीस्थित कब्रस्तानमा प्रहरीलाई जानकारी नदिई गाड्न खोजिएको थियो। शव गाड्ने क्रममा नासिर, जाफिरलगायत व्यक्तिको संलग्नता रहेको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

मृतक युवतीको मृत्युको परिस्थितिसमेत शंकास्पद रहेको प्रहरीको दाबी छ। घटनामा जबर्जस्ती करणीपछि अत्यधिक रक्तश्रावका कारण उनको मृत्यु भएको र त्यसपछि शव गुपचुप रूपमा गाड्न खोजिएको आरोपसमेत अनुसन्धानमा जोडिएको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका क्रममा लामो समयपछि जाफिर र नासिर पक्राउ परेका हुन्। घटनामा संलग्न रहेको आरोप लागेका अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।पक्राउ परेका व्यक्तिहरूमाथि लागेको आरोप अनुसन्धान र अदालतको प्रक्रियाबाट पुष्टि हुन बाँकी छ।


