गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बुढीगण्डकी नदी फेरि थुनिएको छ। नदीमा पछिल्लो १५ मिनेटदेखि जलप्रवाह रोकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिएका छन्।

नदी फेरि थुनिएपछि तटीय क्षेत्रका बासिन्दामा बाढीको जोखिम बढेको छ। नदी थुनिएको स्थान र जलप्रवाह रोकिनुको कारणबारे विस्तृत विवरण प्राप्त हुन सकेको छैन।
यसअघि आज बिहान करिब ४ बजे आएको बाढीले चुमनुब्री गाउँपालिकाका पैयू र बगर गाउँका ३५ घर बगाएको थियो। बाढीले दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा समेत व्यापक क्षति पुर्याएको छ। बाढी बस्तीमा पसेपछि स्थानीयवासी ज्यान जोगाउन सुरक्षित स्थानतर्फ भागेका थिए।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले जानकारी दिए।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण आउन बाँकी छ। नदीमा जलप्रवाह रोकिएको अवस्थामा तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।


