काठमाडौं। सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट सुमो गाडी सुनकोसी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा चार जना घाइते भएका छन्।

काठमाडौं हुँदै खोटाङतर्फ आउँदै गरेको को १ ज २९७६ नम्बरको सुमो गएराति करिब २ः३० बजे सडकबाट करिब १५० मिटर तल सुनकोसी नदीमा खसेको हो।

दुर्घटनामा मृत्यु हुनेमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङकी २१ वर्षीया युपना राई, १९ वर्षीया काब्या राई र खोटेहाङ गाउँपालिका–६, इन्द्रेणीपोखरीकी १६ वर्षीया स्वस्तिका विश्वकर्मा रहेका छन्। उनीहरू दसैं मनाउन घर फर्किंदै थिए।
गाडीमा चालकसहित १० जना सवार रहेकोमा तीन जनाको मृत्यु भएको, तीन जना बेपत्ता रहेको र चार जना घाइते भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार बेपत्ता भएकाहरूको पहिचान खुल्न बाँकी छ। उनीहरूको खोजीका लागि गोताखोर टोली परिचालन गरिएको छ।दुर्घटनामा चालक आशिष विश्वकर्मा, ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी शिवानी राई र १३ वर्षीय अंकित विश्वकर्मा घाइते भएका छन्।

गम्भीर घाइते सम्झनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ भने अन्य घाइतेको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको छ।प्रहरीको प्रारम्भिक अनुमानअनुसार चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


