Lucky-Khabar_

पुरुषलाई हामी माया सिकाउँदैनौं, पीडा लुकाउन तालिम दिन्छौं

हामी पुरुषलाई बालककालबाटै मायाबाट अनभिज्ञ राख्छौं, अनि वयस्क भएपछि उसैसँग गुनासो गर्छाैं– माया देखाउन जानेन !

content ad p2

जति जति मेरा पुरुष मित्रहरूको जीवनलाई नजिकैबाट नियाल्छु म त्यति नै उनीहरूको जीवन जटिल र कष्टकर पाउँछु । हो पुरुषलाई पहाडसँग तुलना गरिन्छ । उसलाई आकाशसँग तुलना गरिन्छ तर आफ्नो कठिनाइसँगको अनवरत संघर्षले ती पहाडमा गएका पहिरोलाई भने नजरअन्दाज गरिन्छ । ऊ पहाड जस्तै उँचो भएको मात्र हेर्न चाहने हाम्रो प्रवृत्तिले गर्दा उसको मनमा आएको दुःख, पीडाको पहिरोलाई हामी देख्नै सक्तैनौं, देख्न चाहँदैनौं । आफ्नो सौर्य मात्र देखाउनुपर्छ भनेर हुर्कंदै गर्दा, जीवनभरि आफ्नो व्यवहारमा प्रदर्शन गरिरहन्छ । किनकि उसले आफ्नो बुबा, काका, मामाहरूबाट त्यही सिकेको छ, जो सौर्यको प्रदर्शन गर्न चुक्छ, ऊ कसरी सजायको भागीदार हुन्छ । त्यसको साक्षी ऊ स्वयम् छ ।

डेबोरा तनेन भन्छिन्— पुरुषले भाषा सिक्नुको उद्देश्य नै उसको पुरुषत्व देखाउने चाहनासँग गाँसिएको छ । पुरुषले आफ्नो स्वनिर्भरता देखाउन, आफू केन्द्रमा रहन, आफ्नो ज्ञानको प्रदर्शन गर्न र आफ्ना वाक्कला देखाउनको निम्ति मात्र कुराकानीमा सहभागिता जनाउँछन् । उनीहरू आफ्नो सफलता प्रदर्शन गर्नुपर्ने कुरामा अत्यन्तै सचेत हुन्छन् । यस्तो अवस्थामा, यस्तो वातावरणमा बाँचिरहेको पुरुषको जीवन कति अस्वाभाविक र जटिल हुन्छ, हामी सजिलै कल्पना गर्न सक्छौं । जब सौर्य हरपल कायम राख्न ऊ असफल हुन्छ, उसको आत्मविश्वास डगमगाउन थाल्छ, ऊ विचलित हुन थाल्छ । अनि यस्तो बेलामा उसले कस्तो कदम चाल्छ, यो मनन् गर्ने कुरा हो ।

भन्ने हो भने पितृसत्ताले ग्रसित मानसिकताले हामी एउटा बालकबाट उसको बालापन समेत खोसिरहेका छौं । रिसर्चर चुका अनुसार एउटा बालकले सामाजिक दबाबमा परेर कोमलतालाई, कमजोरीलाई एउटा वयस्कले झैं लुकाउन सिक्छ । यसरी बालकको बालापन ऊबाट खोसिन्छ । आफूलाई केटी जस्तो भन्ने विशेषणबाट जोगाउन ऊ बाल्य अवस्थाबाटै सचेत रहने गर्छ । त्यसैले चुको अनुसार बालकहरू जहिल्यै पनि साइलेन्ट क्राइसिसमा हुन्छन् । यस्तो मानसिक दबाबमा हुर्किएको त्यो बालक वयस्क भएपछि भने ऊ प्रेमिल होस्, हाम्रो पीडा बुझोस् भनेर अपेक्षा गरिन्छ । के त्यो न्यायसंगत हुन्छ र ? सगरमाथामा धान फलाउन सकिन्छ र ? बालकलाई यसरी हुर्काउने अनि ऊ कठोर भयो, माया नै देखाउँदैन भन्ने कति दोचारे नि हामी ?
वास्तवमा भन्ने हो भने पुरुष मायाको खेलको नियमसँग नै पूर्ण रूपमा अनभिज्ञ हुन्छ । माया त टेनिस बल जस्तै हो नि खेलाडीले जति जोडले हान्छ अर्काे तर्फबाट पनि त्यति नै जोडले वापस आउँछ । खेलमा पार्टनरले फ्याँकेको बलको गति र लय पक्रिन भेउ नपाउने खेलाडी सीधै आउट नत्र भने पनि उसले ज्यादै कम पोइन्ट मात्र ल्याउँछ ।

तर एकातिर हामी बाल अवस्थाबाट नै यो खेलको नियमबाट त मात्र होइन यो खेलबाटै पुरुषलाई अनभिज्ञ राख्छौं अनि वयस्क भएपछि उसैसँग गुनासो गर्छाैं– माया देखाउन जानेन । माया लिन पनि जान्दैन, दिन पनि जान्दैन, कति निष्ठुर छ, कति निर्दयी छ । चाहे छोरा, दाजु/भाइ, पति, बुबा जुनसुकै भूमिका निर्वाह गर्दा पनि पुरुषले प्रेम निःसृत गर्न जानेन भन्ने गुनासो नै हाम्रो कुराकानीको खास शीर्षक हुने गर्छ । उसको प्रेम अभिव्यक्त गर्न नसक्ने बानीको हामी आलोचना गर्छाैं र कतिपय अवस्थामा उसलाई घृणा गर्न समेत पछि पर्दैनौं ।
यति गर्दागर्दै हामी के बिर्सन्छौं भने हामीले हुर्कंदै गरेको बालकलाई नै सिकाउनुपर्छ नि मायाको वेग पनि पानीको वेग जस्तै हुनुपर्छ अनि मात्र जीवन चलाउन आवश्यक पर्ने ऊर्जा त्यसबाट प्राप्त गर्न सकिन्छ । सिञ्चन सकिन्छ जिन्दगीको खेतबारी । नत्र त हेर पुरुष, तिम्रो प्रेमको अभावमा तिम्रो प्रियजनको हृदय पनि खडेरी परेको जमिन झैं चिरिन्छ । अनि त्यो खडेरी परेको हृदयमा कहाँ फेरि फुल्न सक्छन् त तिम्रो निम्ति प्रेमका फूलहरू ? जहाँ माया हुँदैन, कोमलता हुँदैन, कठोरता र तिरस्कार मात्र हुन्छ, त्यो जीवनमा शीतलताको खडेरी त पर्ने नै भो नि !

वास्तवमा भन्ने हो भने पुरुषहरू समाजले, परिवारले गरेको भावनात्मक उपेक्षाका कारणले गर्दा मानसिक र शारीरिक क्षति व्यहोरिरहेका हुन्छन् । डब्लू.एच. कोलेनको अनुसार, डोमिनेन्स, टलफनेस र भावनालाई दबाएर राख्ने दबाब, साथै आफ्नो पुरुषत्वको प्रदर्शन गर्नुपर्ने दबाबका कारण, पुरुषले मानसिक स्वास्थ्य समस्याहरू भोग्नुपर्छ । उनीहरू डिप्रेसन र चिन्ताको शिकार हुने मात्र होइन, आत्महत्या गर्ने अवस्थामा समेत पुग्छन् । जोखिम मोल्ने चुनौतीको कारण सबैभन्दा बढी एक्सिडेन्टको कारण, हत्याहिंसाको कारण, जेल जाने र ज्यान गुमाउने पुरुष नै हुन्छन् । यो यथार्थले पुष्टि गर्छ कि पुरुषहरू असाध्यै जोखिममा छन् ।

तर यो वास्तविकतासँग अनभिज्ञ हाम्रो समाज केवल पुरुषको उपलब्धि, उसले हासिल गरेको सफलताको मेडल गन्नमै व्यस्त छ, मस्त छ । अर्काेतिर सफलताको शिखरमा चढ्दै गर्दा ऊबाट छुटेका उसका सम्बन्धहरूको बारेमा, ऊबाट हुन गएका कमजोरीहरूको बारेमा चर्काे आलोचना गर्न पनि तल्लीन छ उत्तिकै ।

शायद उसको कमजोरी पहिल्याएर आफ्नो इगोलाई सन्तुष्ट पार्न पो खोजेका हौं कि ? नत्र त किन बन्न सक्दैनौं हामी घिउकुमारीको चोप जस्तै शीतल जब ऊ जलनमा हुन्छ ? पुरुषले समाजलाई योगदान दिन छोडेकै क्षणदेखि उसलाई किन बेवास्ता गर्न थाल्छ ? सिमोन हिवेभोले भने झैं एउटा व्यक्तिलाई समाजले त्यसबेलासम्म वास्ता गर्छ जबसम्म ऊ समाजको निम्ति फाइदाजनक हुन्छ ।

त्यसो भए के समाजमा, परिवारमा सेवा पुर्‍याइन्जेल मात्र हो त पुरुषले प्रशंसा र सहानुभूति पाउने ? इज्जत, प्रतिष्ठा पाउन उसले खुन र पसिना बगाइरहनुपर्ने हो ? पुरुषले हार्न नपाउनु कहिल्यै ? जन्मनसाथ साइनो र सम्बन्धको माखेसाङ्लोमा बाँधेर उसलाई हामी आफ्नै सम्पत्ति ठान्छौं, हाम्रो आवश्यकता, इच्छा, चाहना पूरा गरिदिने मेसिन ठान्छौं त्यसैले त ऊ मर्दा पनि हाम्रै इच्छा अनुसार मरोस् भन्ने चाहन्छौं ।

सम्बन्धित खबर

माग सम्बोधन नभए आइतबारदेखि आमरण अनसनको चेतावनी

Akleshsaran Patel

सर्वदलीय बैठक सुरु, उच्चस्तरीय संयन्त्र गठन मुख्य एजेन्डा

लक्की खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर