Lucky-Khabar_

आउदो उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छ : प्रचण्डको भनाई

१९ असोज,काठमाडौं । आउदो उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्रले एक्लै प्रतिष्पर्धामा आफ्नो पार्टीले सबै तहमा उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ ।

content ad p2

नेकपा माओवादी केन्द्र दोलखा काठमाडौं सम्पर्क समन्वय समितिले आज आयोजना गरेको भेटघाट तथा अन्तर्क्रिरयालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो उद्घोष गर्नुभएको हो ।
विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुगेको उल्लेख गर्दै उहाँले अब देशब्यापीरुपमा एकल प्रतिष्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको सुरुवात आगामी मंसिरमा हुने उपनिर्वाचनबाट गरिने बताउनुभयो ।

आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियान र त्यसकै कारण सरकारबाट हटाइएकाले जनतामा माओवादीप्रति नयाँ आशा र आकर्षण पैदा भएको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा एक्लै विजय प्राप्त गर्ने तयारी थाल्ने बताउनुभयो। पछिल्लो समय टानलगायतका कतिपय संस्थामा कांग्रेस एमाले मिल्दा पनि माओवादी एक्लैले चुनाव जितेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले देशब्यापीरुपमा देखिएको जनताको आशा र आकर्षणलाई संगठन निर्माण र जनलपरिचालनसँग जोडेर आगामी निर्वाचन एक्लै जित्ने वातावरण बनाउने बताउनुभयो ।

त्यस्तै पछिल्लो समय प्राकृतिक प्रकोपका कारण सिर्जना भएको संकट समाधानका लागि आफ्नो पार्टीले महत्वपूर्ण पहलकदमी लिएको जानकारी दिंदै उहाँले जनताको सेवा गर्ने अधिकारलाई कसैले खोस्न नसक्ने बताउनुभयो । जनताको सेवा गर्न सरकारमा रहने वा नरहने कुराले अर्थ नराख्ने उल्लेख गर्दै उहाँले अहिले सरकार कहाँ छ भनेर जनताले नभेटाइरहेको बेला बाढीपहिरोका कारण सिर्जना भएको संकट समाधानका लागि आफ्नो पार्टीले अग्रपंक्तिमा रहेर नेतृत्व गरिरहेको बताउनुभयो ।

सबैतिरका समस्या केन्द्रित गरेर चाँडै सरकारलाई ज्ञापनपत्र बुझाउने र त्यसलाई जनताको बीचमा पनि यथार्थ जानकारी दिने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यो वर्ष दसैं तिहारमा शुभकामना आदानप्रदानभन्दा संकटमा परेका जनताको सेवा गर्ने कार्यक्रम बनाउन नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

अहिले धेरै बुद्धिजीवी र अन्य दलका नेता कार्यकर्ताहरुले पनि जनताको अधिकार अझ सुदृढ गर्न माओवादी नेतृत्व अगाडि आउनुपर्छ भन्ने आग्रह गरिरहेको उल्लेख गर्दै उहाँले मुलुक र जनताको नेतृत्व गर्नु भनेको प्रधानमन्त्री हुनु मात्र होइन, जनताको साथमा रहेर जनताको पक्षमा आन्दोलनको नेतृत्व गर्नु भएको बताउनुभयो ।

जनताप्रतिको निष्ठाका कारण पार्टी नेतृत्वमा आत्मविश्वास पैदा हुँदै गएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विनाशकारी भूकम्पको बेलामा होस् वा संविधान निर्माण र कार्यान्वयनको बेलामा सत्तापक्ष र बिपक्षको आँखाले नहेरी पुनर्निर्माण, संविधान निर्माण र कार्यान्वयनको कुशलतापूर्वक नेतृत्व गरेकाले पनि माओवादी केन्द्र र यसको नेतृत्वप्रति जनताको विश्वास रहेको बताउनुभयो । सु

शासन, सामाजिक न्याय र समृद्धिको पक्षमा, समाजवाद निर्माणको पक्षमा पार्टीले नयाँ संकल्प गर्नुपर्ने बेला आएको उल्लेख गर्दै उहाँले जनताका अधिकार सुदृढ गर्न नयाँ आन्दोलनको आवश्यकता रहेको र त्यसको वैचारिक, सांगठनिक र सांस्कृतिक नेतृत्व आफ्नो पार्टीले गर्ने बताउनुभयो ।

देशभित्र मात्र होइन, इटलीको खाद्य सम्मेलन, संयुक्त राष्टसंघको महासभा र कोप २८ सम्म सरकारको नेतृत्वको रुपमा माओवादी केन्द्रको नेतृत्व गरेको कुशल नेतृत्व तथा भारत र चीनसँग निर्वाचन गरेको सन्तुलित कूटनीतिका कारण माओवादी केन्द्र र यसको नेतृत्व विश्वसमुदायसामु ऐतिहासिक रुपमा स्थापित भएको बताउनुभयो ।

कार्यक्रममा पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले पार्टीको सिंगो केन्द्रीय समिति अध्यक्ष प्रचण्डको नेतृत्वमा गोलबन्द र एकताबद्ध रहेको उल्लेख गर्दै आगामी केन्द्रीय समितिको बैठकले संगठन निर्माण र जनपरिचालनका कार्यक्रम अघि सार्ने बताउनुभयो ।

उहाँले सबै दलका नेताहरुको विवेक र चेतनाको परीक्षण भएको उल्लेख गर्दै आफ्नो पार्टी सबैभन्दा अग्रगामी र परिवर्तनकारी भएकाले माओवादी केन्द्रका हरेक सदस्य मुलुक र जनताको हितमा गम्भीर हुनुपर्ने बताउनुभयो ।

सम्बन्धित खबर

राप्रपा पर्साको अध्यक्षमा पूर्व सांसद बिना जयसवाल कुर्मी सर्वसम्मत

लक्की खबर

वीरगञ्ज महानगर कमिटी एमाले विवाद स्थानीय तहमै समाधान गर्न महासचिव पोखरेलको निर्देशन

लक्की खबर

एमाले वीरगञ्ज महानगर कमिटी अध्यक्षमा सुन्दरप्रसाद कुर्मी नियुक्त

लक्की खबर