२५ पुष, वीरगञ्ज । वीरगञ्जको विकासमा स्थानीय नेताहरूको योगदानलाई लिएर आम जनता पार्टीका अध्यक्ष साहले कडा टिप्पणी गरेका छन् । आज बिहीबार नारायणी रङ्गशालाको अवलोकन गर्दै साहले पर्सामा रहेका मन्त्रीहरूलाई “दलाल” को संज्ञा पनि दिएका छन् ।
साहले पर्सामा ३ जना सङ्घीय र २ जना प्रदेश मन्त्री हुँदाहुँदै पनि विकासमा कुनै प्रगति नभएको आरोप लगाए । उनले पूर्व मुख्यमन्त्री लालबाबु राउतले पनि आफ्नो कार्यकालमा वीरगञ्जको हितमा केही नगरेको भन्दै आलोचना गरे । साहले भने, “वीरगञ्जका नेताहरूले यहाँको लागि केही गरेका छैनन् । उनीहरू नेता होइन, दलाल हुन् । ५ वर्ष मुख्यमन्त्री हुँदा राउतले के गरे? अहिलेका मन्त्रीहरूले के नयाँ थपे?”
साहले पञ्चायत कालमा निर्माण भएका संरचनाहरू– नारायणी रङ्गशाला, टाउन हल, शङ्कराचार्य द्वार, घण्टाघर, नारायणी अस्पताल, र ठाकुरराम क्याम्पस जस्ता परियोजनाहरू उल्लेख गर्दै पछिल्लो समयमा कुनै नयाँ विकास नभएको बताए । “पञ्चायत कालमा भएको विकासपछि यहाँ केही भएको छैन । अहिले भएका संरचनाहरू पनि जीर्ण अवस्थामा पुगेका छन्,” उनले थपे ।
मधेसको केन्द्र जनकपुर जाँदा त्यहाँको स्थानीय सरकारले एउटा स्वागत द्वार बनाए पनि यहाँको स्थानीय सरकारले कुनै ठोस कार्य नगरेको पनि उनले आरोप लगाए । “जनकपुर जाँदा त्यहाँ एउटा स्वागत गेट त स्थानीय सरकारले बनाएको छ, यहाँ के बनेको छ? यहाँको स्थानीय र प्रदेश सरकारले वीरगञ्जको लागि के गरेको छ?” भन्दै साहले प्रश्न गरे ।
विशेष गरी नारायणी रङ्गशालाको दयनीय अवस्थाबारे साहले लाज र दया व्यक्त गर्दै भने, “यो कहिल्यै खेलकुदको केन्द्र थियो । तर अहिले यसलाई हेर्दा आफैँलाई लाज लाग्छ । यहाँका नेता र मन्त्रीहरूले यो सुधार्न कुनै प्रयास गरेका छैनन् ।” उनले नारायणी रङ्गशालाको पुनर्निर्माणका लागि सङ्घर्ष बाहेक आफूहरूसँग कुनै विकल्प नरहेको पनि उल्लेख गरे ।
साहले हालै पर्साको भ्रमण गरेका नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणी रङ्गशालाको विकासका लागि केही नगरेको भन्दै आलोचना पनि गरे । “केपी ओली यहाँ आउँदा रङ्गशालाको अवलोकन पनि गरेनन् । यो संरचनालाई सुधार्न उनले केही बोलेनन्,” साहले भने ।
केन्द्र सरकारले वीरगञ्जलाई लुट्ने ठाउँको रूपमा मात्र हेर्ने गरेको आरो पप्रभु साहले लगाए । उनले भने, “वीरगञ्जबाट कर र राजस्वको नाममा अर्बौँ रकम उठाइन्छ । तर विकासका लागि बजेट दिइँदैन । यो सरकारको विभेद हो ।” उनले आफ्नो पार्टीले वीरगञ्जसँग भइरहेको विभेदको विरुद्धमा कडा कदम चाल्ने चेतावनी पनि दिए । उनले भने, “वीरगञ्जबाट उठाइने करको अनुपातमा विकास बजेट सुनिश्चित गर्न दबाब दिनेछौँ । विरोधका कार्यक्रमहरू सुरु गर्नेछौँ ।”
वीरगञ्जलाई देशको आर्थिक राजधानी बनाउने आफ्नो दृढ अठोट व्यक्त गर्दै साहले स्थानीय नेताहरूलाई पुनः चोर र भ्रष्टाचारीको संज्ञा दिए । उनले भने, “वीरगञ्जलाई आर्थिक राजधानी बनाउन म नेतृत्व गर्नेछु । यदि सरकारले यो माग पूरा गरेन भने मधेस अनिश्चित कालका लागि बन्द हुनेछ ।”
त्यस्तै साहले अवलोकनपछि नारायणी क्रिकेट रङ्गशालामा जारी जय ट्रफी प्रतियोगितामा पनि सहभागिता जनाएका थिए ।





