३०बैसाख,रौतहट । रौतहटको कटहरिया नगरपालिकामा नवविवाहिता महिलाको शंकास्पद मृत्यु भएको घटनाले सनसनी फैलिएको छ। मृतकका माइती पक्षले दाइजोको लागि हत्या गरिएको गम्भीर आरोप लगाएका छन्।

कटहरिया नगरपालिका–५ बिर्ती पस्टोका टोल स्थित घरमा बस्दै आएका अहमद राय भाटकी २१ वर्षीया पत्नी सानिया प्रविन आफ्नै कोठामा साडीको पासोमा झुण्डिएको अवस्थामा आइतबार दिउँसो फेला परेकी थिइन्। कटहरिया नगरपालिका–३ बडेरवा स्थायी घर भएकी सानियाको विवाह मुसलमान धर्म अनुसार करिब छ महिनाअघि अरमान राय भाटसँग भएको थियो।

मृतककी आमा कायमा खातुनका अनुसार, विवाहपछि सानियामाथि निरन्तर दाइजोको लागि मानसिक र शारीरिक यातना दिइएको थियो। उनले छोरीलाई योजना अनुसार हत्या गरी आत्महत्या देखाउन खोजिएको आरोप लगाएकी छिन्।

घटनाको जानकारी पाउँदै इलाका प्रहरी कार्यालय कटहरिया र इलाका प्रहरी कार्यालय गरुडाबाट संयुक्त टोली घटनास्थलमा पुगेको थियो। पोष्टमार्टम पछि शव मृतककी आमाले बुझेर भारतको बिहारस्थित घर लगिएको प्रहरीले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले घटनाको अनुसन्धान भइरहेको र अहिले आत्महत्या दुरुत्साहनको कोणबाट छानबिन भइरहेको बताएका छन्। “पोष्टमार्टम रिपोर्ट आएपछि मात्र थप निष्कर्ष निकालिन्छ,” उनले भने।

छोरीको मृत्युको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन मृतकका माइती पक्षले जोडदार माग गरेका छन्। उनीहरूले यस घटनालाई आत्महत्या होइन, योजनाबद्ध हत्या भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।


