२३ फाल्गुन,काठमाडौं| बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ४५ वर्षीय कर्णबहादुर विष्टलाई भाइको हत्या अभियोगमा प्रहरीले आज पक्राउ गरेको छ ।

प्रहरीले गत शनिबार गाउँकै भाइ नाता पर्ने २४ वर्षीय सुरेन्द्र विष्टको गोली हानेर हत्या गरी फरार भएको अभियोगमा विष्टलाई दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुनाकाबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहाल नेतृत्वको टोलीले विष्टलाई पक्राउ गरेको जनाएको छ । बैतडीबाट आएका सादा पोशाकका प्रहरीसहितको सहयोगमा विष्टलाई पक्राउ गरिएको प्रनाउ दाहालले जानकारी दिए ।
उनका अनुसार विष्ट नेपाल–भारत सीमा क्षेत्रमा लुकेर बसेका थिए । मोबाइल लोकेसनका आधारमा पक्राउ गर्न सफल भएको उनले बताए ।

विष्टले लेनदेनका विषयमा विवाद हुँदा भरुवा बन्दुकबाट गोली हानेर भाइ सुरेन्द्रको हत्या गरेको अभियोग छ । कर्णबहादुर विष्टले सुरेन्द्रलाई ४० हजार रुपैयाँ तिर्नुपर्ने थियो । सोही विषयमा विवाद हुँदा उनले गोली चलाएको जनाइएको छ ।


