२९चैत, काठमाडौँ। राजावादीको तीनकुने प्रदर्शनपछि फरार भएका राजावादी अभियन्ता दुर्गा प्रसाईँलाई भारतको आसामबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।
भारतीय प्रहरीको सहयोगमा उनलाई पक्राउ गरेर आज (शुक्रवार) बिहान झापा ल्याइएको प्रहरी स्रोतबाट जानकारी भएको हो ।

प्रसाईँलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौँ लाग्ने तयारी गरिएको छ । तीनकुनेमा भएको प्रदर्शनमा सहभागिता जनाएपछि फरार रहेका प्रसाईँको खोजीमा रहेको नेपाल प्रहरीले अन्तर देशीय समन्वयमार्फत पक्राउ गराएको हो ।

तीनकुने घटनापछि प्रहरीले प्रदर्शनकारी नेताहरूलाई पक्राउ गरे पनि प्रमुख अभियन्ता दुर्गा प्रसाईँ फरार रहेका थिए । उनका गतिविधि भारततर्फ देखिएपछि नेपाल प्रहरीले भारतीय सुरक्षासँग समन्वय गरी आसामबाट पक्राउ गर्न सफल भएको जनाएको छ ।
अब उनीमाथि तीनकुने घटनामा भएको अवाञ्छित गतिविधिमा संलग्नता सम्बन्धी अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।



