Lucky-Khabar_

आदमपुर एयरबेस पुगेर मोदीले सेनाप्रति भारत सदैव ऋणी छ भने

३०बैसाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–पाकिस्तानबीच युद्धविरामपछि अकस्मात् आदमपुर एयर बेस पुगेर त्यहाँका भारतीय वायु सेनाका जवानहरूसँग भेटघाट गरेका छन् ।

मोदीको यो भ्रमण भारत र पाकिस्तानबीच चार दिनसम्म चलेको तनावपूर्ण संघर्षपछिको सन्दर्भमा भएको हो । ‘अपरेसन सिन्दूर’अन्तर्गत भारतको हवाई सुरक्षामा महत्त्वपूर्ण भूमिका खेलेका जवानलाई भेटेर मोदीले प्रशंसा गरेको इन्डिया टीभीले जनाएको छ ।

content ad p2

भारतले मे ६–७ को रातमा पाकिस्तान तथा पाकिस्तानको कश्मीरमा ‘अपरेसन सिन्दूर’ भन्दै हवाई आक्रमण गरेको थियो । त्यसको जवाफमा पाकिस्तानले पनि जवाफी कारबाही गरेको थियो । मे १० मा दुवै देशले थप सैन्य कारबाही रोक्ने सहमति जनाएका छन् ।

भारतको दोस्रो ठूलो एयर बेस आदमपुरमा प्रधानमन्त्री मोदीको उपस्थितिले रणनीतिक र प्रतीकात्मक दुवै सन्देश दिएको बताइएको छ । भ्रमणका तस्बिरहरूमा मोदी एमआईजी–२९ लडाकु विमान र पूर्ण रूपमा सुरक्षित रहेको एस–४०० हवाई रक्षा प्रणाली अगाडि उभिएका थिए, जुन पाकिस्तानले आदमपुरमा नष्ट गरेको दाबी गरेको थियो ।
प्रधानमन्त्री मोदीले बिहान सबेरैको भेटमा वायुसेना जवानहरूसँग कुराकानी गर्दै हालैको द्वन्द्वका बेला पाकिस्तानबाट प्रक्षेपण भएका ड्रोन र मिसाइलहरूलाई निष्क्रिय पार्न उनीहरूले खेलेको भूमिकाप्रति आभार व्यक्त गरे ।

“साहस, दृढता र निडरताको प्रतीक यी वीर योद्धाहरूबीच रहनु निकै विशेष अनुभव रह्यो । हाम्रो राष्ट्रका लागि सशस्त्र बलले गर्ने योगदानप्रति भारत सधैँ ऋणी रहनेछ,” प्रधानमन्त्रीले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन् ।

आदमपुर एयर बेस भारतीय वायुसेनाको पश्चिमी हवाई कमान्डअन्तर्गत पर्छ, जुन भारतको सबैभन्दा महत्त्वपूर्ण सञ्चालनात्मक इकाइमध्ये एक हो । यो कमान्डले जम्मु–कश्मीरदेखि राजस्थानसम्म फैलिएको रणनीतिक क्षेत्र समेट्छ । यसमा पञ्जाब, हिमाचल प्रदेश, हरियाणा, दिल्ली र पश्चिमी उत्तर प्रदेशका अग्रपंक्तिका एयर बेसहरू पर्दछन् ।

अपरेसन सिन्दूरलगायतका धेरै सैन्य अभियान वायुसेनाका प्रमुख र एयर मार्सल जितेन्द्र चौधरीको नेतृत्वमा पश्चिमी वायु कमान्डमार्फत समन्वय गरिएका थिए ।

सम्बन्धित खबर

फर्जी सदस्यता विवाद भिक्टोरिया सर्वोच्च अदालतमा, एनआरएनए अष्ट्रेलिया रिट प्रकरणमा प्रमाण पेश गर्न आदेश

लक्की खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर