१२ जेठ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादी पक्षधर आन्दोलनलाई लिएर दिएको पछिल्लो अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर चासो व्यक्त गरेको छ। जेठ १५ गते काठमाडौं एमालेको कब्जामा हुनुपर्ने प्रधानमन्त्रीको भनाइप्रति आयोगले आपत्ति जनाएको हो।


आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको यस्तो उत्तेजनात्मक भनाइले लोकतान्त्रिक मूल्य र मानव अधिकारको मर्यादा कमजोर पार्ने आयोगका प्रवक्ता टीकाराम पोख्रेलले बताएका छन्। उनले उक्त भनाइ विधिको शासनविपरीत भएको पनि स्पष्ट पारेका छन्।

राजनीतिक नेतृत्वलाई संयमित रहन, उत्तेजक र विभाजनकारी अभिव्यक्ति नदिन आयोगले आग्रह गरेको छ। नवराज सुवेदीको नेतृत्वमा ’संयुक्त जनआन्दोलन समिति’ ले जेठ १५ गते काठमाडौंमा प्रदर्शनको तयारी गरिरहेको छ। प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्ति यही कार्यक्रमलाई लक्षित गरी आएको र यसले विवाद उत्पन्न गरेको छ।
आयोगले सुरक्षा निकायलाई राजधानीलगायतका स्थानमा शान्ति र सुरक्षा व्यवस्था मजबुत बनाउन आग्रह गरेको छ। साथै, ’संयुक्त जनआन्दोलन समिति’ लाई पनि आफ्ना गतिविधि शान्तिपूर्ण रूपमा अगाडि बढाउन अनुरोध गरेको छ।




