१३ जेठ,काठमाडौं ।विपक्षी दलनिकट विद्यार्थी संगठनहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको आरोप लगाउँदै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले गृहमन्त्री लेखकको तत्काल राजीनामाको माग गरेका छन्।


प्रदर्शनकारी विद्यार्थी संगठनहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा भिजिट भिसामा खाडी मुलुक र युरोप जाने नेपालीहरूबाट दैनिक ५० लाखभन्दा बढी घुस लिइएको र यसमा गृहमन्त्रीको प्रत्यक्ष संलग्नता रहेको दाबी गरेका छन्।

उनीहरूका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल अध्यागमन कार्यालयमा छापा मारी त्यहाँ कार्यरत सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले गृहमन्त्री रमेश लेखकलाई भिजिट भिसामा नेपालीहरूलाई विदेश पठाएबापत दैनिक ५० लाख बुझाउने गरेको बयान दिएपछि उनीहरू थप आक्रोशित भएका हुन्।

विद्यार्थी संगठनहरूले देशकै गृहमन्त्रीजस्तो व्यक्तिको प्रत्यक्ष संलग्नतामा दैनिक लाखौं घुस लिएर विदेश पठाउनु मानव बेचबिखन र देशद्रोह भएको ठहर गरेका छन्। उनीहरूले वर्तमान सरकारले अख्तियारको दुरुपयोग गर्दै मानव बेचबिखन र देशद्रोहमा मुछिएका गृहमन्त्री रमेश लेखक र दोषी कर्मचारीहरूलाई तत्काल बर्खास्त गरी कारबाही गर्नुको सट्टा संरक्षण गरिरहेको आरोप लगाएका छन्।
गृहमन्त्री रमेश लेखक तथा अन्य मानव बेचबिखन र देशद्रोहमा संलग्न सबैलाई प्रदर्शनकारीहरूले तत्काल बर्खास्त गरी पक्राउ र कारबाही गर्न माग गरेका छन्।


