वीरगञ्ज । रसुवा जिल्लामा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उपचारमा आवश्यक रक्त सहयोग उपलब्ध गराउने उद्देश्यले वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

रोटर्याक्ट क्लब अफ नेशनल मेडिकल कलेजको आयोजना तथा नेशनल मेडिकल कलेज ब्लड बैंकको सहकार्यमा आयोजित रक्तदान कार्यक्रमबाट ६८ पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ।

नेशनल मेडिकल कलेज परिसरको पार्किङ क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन गरिएको अभियानमा चिकित्सक, स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी, विद्यार्थी, स्वयंसेवक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले उत्साहपूर्वक रक्तदान गरेका थिए।
विपद्को समयमा हुन सक्ने रक्त अभाव न्यूनीकरण गर्दै बाढी प्रभावित तथा उपचाररत बिरामीको जीवनरक्षामा सहयोग पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ। संकलित रगत नेशनल मेडिकल कलेज ब्लड बैंकमार्फत रसुवा बाढीपीडितको उपचार तथा आवश्यक रक्त सहयोगमा प्रयोग गरिने जनाइएको छ।
मानवीय सेवाको भावनासहित आयोजित अभियानले विपद्को समयमा समुदाय, स्वास्थ्य संस्था र स्वयंसेवकबीचको सहकार्यलाई थप मजबुत बनाउनुका साथै रक्तदानप्रति जनचेतना अभिवृद्धिमा समेत योगदान पुगेको आयोजकको विश्वास छ।

कार्यक्रममा नेशनल मेडिकल कलेजका अध्यक्ष प्रा. डा. जैनुद्दिन अन्सारी, प्रबन्ध निर्देशक शाहनवाज अन्सारी, एडमिशन अफेयर्स तथा मार्केटिङ डाइरेक्टर आबिद हुसेन अन्सारी, अस्पताल निर्देशक डा. ईशरत जहान, प्रमुख सूचना अधिकृत इ. प्रदीप कुमार चौधरी, प्रमुख वित्तीय अधिकृत, मार्केटिङ म्यानेजर तथा प्रशासन विभागका पदाधिकारीहरूको उपस्थिति थियो।

त्यसैगरी रोटर्याक्ट क्लब अफ नेशनल मेडिकल कलेजका अध्यक्ष एमडी उमर देवानसहित चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, क्लबका सदस्य तथा स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


