Lucky-Khabar_

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल भित्रिने, अभाव नहुने सरकारको दाबी

काठमाडौं |धान रोपाइँ र गोडमेलको मुख्य समयमा किसानलाई रासायनिक मलको अभाव हुन नदिन कृषि, वन तथा वातावरण मन्त्रालयले साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको जनाएको छ।

content ad p2

मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय बजारमा आपूर्ति चुनौती देखिए पनि भारत सरकारसँगको सरकार–सरकार (जीटूजी) सम्झौता तथा अन्तर्राष्ट्रिय (ग्लोबल) टेन्डरमार्फत मल आयातलाई तीव्र बनाइएको छ। मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व बजार प्रभावित भए पनि नेपाली किसानलाई मल अभाव हुन नदिन कूटनीतिक तथा व्यापारिक दुवै माध्यमबाट आवश्यक व्यवस्था मिलाइएको मन्त्रालयको भनाइ छ।

भारतसँगको जीटूजी सम्झौताअन्तर्गत ८० हजार मेट्रिक टन मल ल्याउने सहमति भएको छ। यसमध्ये पहिलो चरणमा ५० हजार मेट्रिक टन मल साउनको दोस्रो साताभित्र नेपाल आइपुग्नेछ। साथै थप ३० हजार मेट्रिक टन युरिया असार अन्तिमदेखि साउन दोस्रो साताभित्र नेपाल भित्रिने मन्त्रालयले जनाएको छ।

यस्तै, ग्लोबल टेन्डरमार्फत १ लाख ८० हजार मेट्रिक टन रासायनिक मल आयातको प्रक्रिया अघि बढाइएको छ। यसमा ६० हजार मेट्रिक टन डीएपी र १ लाख २० हजार मेट्रिक टन युरिया रहेको छ। यी मल साउनको पहिलो सातासम्म नेपाल भित्र्याउने लक्ष्य राखिएको छ।मल आयातको जिम्मेवारी पाएका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले विभिन्न देशबाट ढुवानी प्रक्रिया तीव्र बनाएका छन्।

कृषि सामग्री कम्पनीका अनुसार ओमनमा लोडिङ भइरहेको ३० हजार मेट्रिक टन युरिया असार अन्तिमसम्म कोलकाता पुग्ने र साउन दोस्रो साताभित्र नेपाल ल्याइनेछ। कतारबाट पनि ३० हजार मेट्रिक टन युरिया जहाजमार्फत पठाइसकिएको छ, जुन असार अन्तिम साता कोलकाता पुग्ने अपेक्षा गरिएको छ|

त्यस्तै साउदी अरेबियाबाट ३० हजार मेट्रिक टन युरिया र भियतनामबाट ३० हजार मेट्रिक टन डीएपी ढुवानी भइसकेको छ। दुवै खेप असार अन्तिमसम्म भारतीय बन्दरगाह पुग्ने र साउन दोस्रो सातादेखि नेपाल भित्रिने मन्त्रालयले जनाएको छ।साल्ट ट्रेडिङ कर्पोरेशनका अनुसार ३० हजार मेट्रिक टन डीएपी विशाखापट्टनम बन्दरगाह पुगिसकेको छ र असार १९–२० गतेभित्र नेपाल ल्याइनेछ। थप३० हजार मेट्रिक टन युरिया पनि जहाजमा लोड भइसकेको छ, जुन कोलकाता हुँदै साउन अन्तिमसम्म नेपाल आइपुग्नेछ।

मन्त्रालयले चालु आर्थिक वर्षमा किसानलाई अनुदानमा ६ लाख मेट्रिक टन रासायनिक मल उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ। साउनभित्रै ठूलो परिमाणमा मल भित्रिने भएकाले यस वर्ष धान खेतीका लागि आवश्यक मलको अभाव नहुने र उत्पादन वृद्धि हुने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर