काठमाडौं । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा हिन्दुवादी सङ्गठनहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले देवानगञ्ज–३ कप्तानगञ्जमा साउने सोमबारको बोलबम यात्राका क्रममा भएको घटनामा प्रहरीको गोलीबाट नागरिकको ज्यान गएको भन्दै दोषीमाथि कारबाही र निष्पक्ष छानबिनको माग गर्दै नाराबाजी गरेका थिए।

प्रहरीका अनुसार सप्तकोसी नदीतर्फ बोलबम यात्राका लागि जाने क्रममा डिजे बजाउने विषयलाई लिएर दुई समूहबीच विवाद भएपछि झडपको अवस्था सिर्जना भएको थियो। स्थिति नियन्त्रणमा लिन तथा झडप छुट्याउने क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको जनाएको छ।

घटनापछि आक्रोशित हिन्दुवादी सङ्गठनहरूले माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा सुरक्षा व्यवस्था कडा पारिएको थियो।प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


